DCRL आयोजना पुस्तिका – नेपाली

नेपालको मध्य पहाडी भागका जलाधार क्षेत्रहरु प्राकृतिक, मानवीय तथा जलवायु परिवर्तनजन्य बाढी, पहिरो, खडेरी जस्ता बहुप्रकोपहरुबाट प्रभावित रहेका छन् । जलवायु परिवर्तनबाट अतिवृष्टि, अल्पवृष्टि साथै तापक्रम वृद्धिको कारणले हिमाली क्षेत्रको हिउँ पग्लने दरलाई तीव्र बनाएको छ । यसका साथै पानीका स्रोतहरु सुक्दै जाने र सुख्खा ग्रस्त क्षेत्रहरु क्रमशः बढ्दै जाँदा जमिनको उर्वराशक्ति र कृषि प्रणालीमा समेत प्रत्यक्ष रुपमा नकारात्मक असर परेको पाइन्छ । विकासका पूर्वाधार, पारिस्थितिकीय तथा कृषि प्रणाली लगाएतमा समग्र प्राकृतिक स्रोतहरुमा जलवायु परिवर्तनको बहुआयमिक र बहुक्षेत्रगत असरहरु परेको छ । यस्ता असरबाट समुदायको जीवनस्तर र जीविकोपार्जनमा प्रत्यक्ष नकारात्मक असर परिरहँदा जोखिमयुक्त न्यून आय भएका समुदायहरु अझ बढी प्रभावित भएका छन् ।