माझीटारमा सोलार लिफ्टिङ सिँचाइ योजना उद्घाटन, माझी समुदाय हर्षित

0 Comments

ओखलढुंगा । पहाडी क्षेत्रमा सिँचाइको अभावले खेतबारी बाँझिने र बसाइँ सर्ने क्रम बढ्दो छ। यसै समस्यालाई रोक्न ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-१, माझीटारमा सोलार लिफ्टिङ सिँचाइ योजना सञ्चालनमा ल्याइएको छ। दूधकोशी नदीको पानीलाई सौर्य ऊर्जाको प्रयोग गरी लिफ्टिङ गरेपछि यहाँको १५ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ। जसले आउँदा दिनमा यस क्षेत्रको कृषि उत्पादनमा महत्वपूर्ण परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

माझीटारभन्दा केही तल बहने दूधकोशी नदीको पानी स्थानीयवासीका लागि सधैं हेरेर चित्त बुझाउनुपर्ने नियति थियो। गर्मीयाममा चर्को खडेरीले यहाँको उर्वर भूमि बाँझिने गरेको थियो। परम्परागत रूपमा मकै र कोदो फल्ने यस गाउँमा सिँचाइ सुविधा नहुँदा अन्य बाली लगाउन समेत समस्या थियो।

यही समस्यालाई मध्यनजर गर्दै वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वन तथा भू–संरक्षण विभाग, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (UNDP) र विश्व वातावरण कोष (GEF) को संयुक्त साझेदारीमा सञ्चालित जलाधारमा आधारित जलवायु परिवर्तन उत्थानशील जीविकोपार्जन आयोजना (DCRL) ले कुइभीर सौर्य लिफ्टिङ सिँचाइ योजना कार्यान्वयनमा ल्याएको हो।

माझीटारमा बसोबास गर्ने अति सीमान्तकृत ४० माझी परिवार र अन्य ५ जनजाति परिवार यस आयोजनाबाट प्रत्यक्ष लाभान्वित भएका छन्। वर्षौंदेखि सिँचाइको अभाव खेपेका उनीहरूले अब आफ्नो खेतबारीमा बाह्रैमास खेती लगाउन पाउने भएका छन्।

“हाम्रो खेतबारी सधैँ सुक्खा हुन्थ्यो। आकाशको पानी पर्‍यो भने मात्रै अलिअलि खेती हुन्थ्यो। अब यो सोलार लिफ्टिङ सञ्चालनमा आएपछि हाम्रो दुःखका दिन गए।”
स्थानीय लिफ्टिङ जल उपभोक्ता समितिका अध्यक्ष महेन्द्र माझीले खुसी व्यक्त गर्दै भने, “हामी वर्षभरि नै अन्नबाली र तरकारी फलाएर आम्दानी गर्न पाउने भयौं।”

त्यस्तै, स्थानीय किसान खेमकुमारी माझीले सिंचाइ असुविधा हुँदा दु:ख पाएको बताउँदै अब भने अन्न र तरकारी फलाएर आम्दानी गर्न सकिने अवस्था भएको बताइन् ।

दूधकोशी नदीको किनारमा खनिएको इनारबाट सौर्य ऊर्जाको माध्यमले पानीलाई माझीटारमाथि निर्माण गरिएको सिँचाइ पोखरीमा तानिएको छ। दैनिक एक लाख लिटर पानी प्रवाह क्षमता रहेको यो सिँचाइ योजना निर्माणका लागि कुल १ करोड २५ लाख रुपैयाँ खर्च भएको छ।

हालै सम्पन्न भएको यो महत्वपूर्ण योजनाको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरेका थिए।  उद्घाटनपश्चात सौर्य लिफ्टिङ सिँचाइ योजनाले कृषि विकासमा नयाँ आयाम थपेको र माझी समुदायलाई यो योजनाले ठूलो राहत दिने मन्त्री मण्डलले बताए।

सिँचाइ सुविधा नहुँदा माझीटारका माझी समुदायको जीविकोपार्जनमा असर परिरहेको थियो। औपचारिक कार्यक्रममा बोल्दै दाता संस्थाहरूका प्रतिनिधिले नेपाल सरकारसँगको सहकार्यमा यस्तो महत्वपूर्ण आयोजनामा सहयोग गर्न पाउँदा खुशी लागेको बताएका छन्। यसै क्रममा UNDP नेपालकी आवासीय प्रतिनिधि क्योटो योकोसुकाले योजना सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै योजनाले भविष्यमा माझीटारका सीमान्तकृत समुदायको जीवनमा सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्ने अपेक्षा रहेको बताइन्।

चिशंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले सोलार लिफ्टिङ योजनाले सिंचाइ सुविधा भएपछि माझीटारमा बाह्रैमास हरियाली देख्न पाइने र उनीहरूको जीवनस्तरमा सुधार आउने बताए।

एक वर्षको अवधिमा सम्पन्न भएको यो योजनाले माझीटारको सुक्खा तर उर्वर भूमि अब हराभरा हुने निश्चित छ। सिँचाइ सुविधा पुगेपछि यहाँका किसानहरूले वर्षभरि विभिन्न प्रकारका बाली लगाउन सक्नेछन्, जसले गर्दा उनीहरूको आयस्रोतमा वृद्धि हुनेछ। यसका साथै, वातावरण संरक्षणमा समेत यो आयोजनाले सकारात्मक योगदान पुर्‍याउने विश्वास लिइएको जलाधारमा आधारित जलवायु परिवर्तन उत्थानशील जीविकोपार्जन आयोजना (DCRL) का फिल्ड प्रमुख दिनेशकुमार शाहको भनाइ छ।

उद्घाटन कार्यक्रममा वन तथा भू–संरक्षण विभागका महानिर्देशक तथा राष्ट्रिय कार्यक्रम निर्देशक बद्रीनाथ ढुंगाना, कोशी प्रदेशको वन निर्देशनालय, पर्यटन वन तथा वातावरण मन्त्रालयका प्रदेश वन निर्देशक डा. इन्द्रप्रसाद सापकोटा, डीसीआरएलका राष्ट्रिय कार्यक्रम प्रबन्धक डा. प्रेमप्रसाद पौडेल, वडाध्यक्ष उषक कट्वाललगायत स्थानीय जनप्रतिनिधि, लाभग्राही किसानलगायतको सहभागिता थियो।

Please visit the link to read the news from the media

https://www.okhaldhungakhabar.com/detail/2088?fbclid=IwY2xjawJ2osFleHRuA2FlbQIxMQBicmlkETE1ejRjelZRY0EzclRnZWdCAR4KAIkjjxN-tR9iGud6GfG-Nn_EEKCDUDwXLoiLmlOcqtgEy_oevK3nQnAc6A_aem_kNo4Eiih2Jk0D7x0SyxDAw

Comments (0)

No comments found.

Leave a Reply